संखुवासभा — कोशी राजमार्गअन्तर्गत भोटखोला सडकखण्ड अवरुद्ध भएको छ। बुधबार बिहान साढे ६ बजे मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख रामकुमार लामिछानेका अनुसार रातभरको वर्षापछि एकुवा खोलाले कच्ची सडक बगाएको हो। गत वर्ष सोही स्थानमा आएको पहिरोले एकुवा खोलाको पक्की पुलसमेत बगाएको थियो।
हाल सडकमा खसेको पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
