सुक्खाग्रस्त कुईभिर माझीटारमा पुग्यो लिफ्टिङ सिँचाइ, ४५ घर माझी परिवार लाभान्वित

वैशाख १०, २०८२

भानुभक्त निरौला

Lifting irrigation reaches drought-hit Kuivir Majhitar, 45 Majhi families benefit

सोलुखुम्बु — चिसंखुगढी गाउँपालिका १ कुईभिरको सुक्खाग्रस्त क्षेत्र माझीटारमा लिफ्टिङमार्फत दूधकोशीको पानी पुर्‍याइएको छ ।

दूधकोशी माथिको सुक्खा गाउँ माझीटारमा विभिन्न दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा वन तथा वातावरण मन्त्रालय मार्फत सञ्चालित जलाधारमा आधारित जलवायु उत्थानशील जिविकोपार्जन आयोजना मार्फत कुइभिर सोलार लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको हो । 

एक करोड २५ लाखको लागतमा सम्पन्न उक्त आयोजनाको मंगलबार एक कार्यक्रमकाबीच कोशी प्रदेशका पर्यटन, वन तथा वतावरणमन्त्री सदानन्द मण्डलको उपस्थितिमा पालिका र उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक तथा उक्त परियोजनाका राष्ट्रिय निर्देशक बद्रिराज ढुंगानाले गाउँपालिका अध्यक्ष निशान्त शर्मालाई उक्त आयोजना हस्तान्तरण गरेका हुन् । दूधकोशी नदीबाट ८ सय १० मिटरमाथि १ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरी पानी ल्याइएको छ । 

सोलार ५० किलोबाट सोलारको प्रयोग गरी ल्याइएको उक्त लिफ्टिङ आयोजनाबाट ४५ घर माझी बस्तीको १५ हेक्टर जमिनमा सिँचाइ पुग्ने भएको छ । कार्यक्रममा बोल्दै मन्त्री मण्डलले जलवायु परिवर्तनको असर न्यूनीकरण र जनताको जीवन स्तर उकास्न यो आयोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

विभागका महानिर्देशक ढुंगानाले संघीय सरकारले आयोजना सम्पन्न गरे पनि यसको निरन्तरता र दिगोपनाको लागि उपभोक्ता नै जागरुक हुनुपर्ने बताए । गाउँपालिका अध्यक्ष निशान्त शर्माले यसको व्यवस्थापन पालिकाले गर्ने बताए ।

भानुभक्त निरौला

Link copied successfully