देवीस्थान सामुदायिक वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाउने भन्दै डिभिजन वन कार्यालयले दिएन अनुमति
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढी क्षेत्रमा किरात सांस्कृतिक संग्रहालय निर्माणमा रोक लगाइएको छ । देवीस्थान सामुदायिक वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाउने भन्दै डिभिजन वन कार्यालयले अनुमति नदिँदा किरात सांस्कृतिक संग्रहालय निर्माण नहुने भएको हो ।
संघीय सरकारको एक करोड रूपैयाँको बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगामार्फत ठेक्काबाट निर्माण हुनुपर्ने संग्रहालय डिभिजन वन कार्यालय खोटाङले अनुमति नदिँदा रोकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताए । देवीस्थान सामुदायिक वनले उपयोजना पारित गरी उक्त संरचना निर्माण गर्ने निधो गरिएको उनको भनाइ छ ।
‘गत आर्थिक वर्ष नगरपालिकाले तयार गरेको कालिका भगवती मझुवागढी सौन्दर्यकरण गुरुयोजना अनुसार किरात सांस्कृतिक संग्रहालय निर्माण गर्न लागिएको थियो,’ घिमिरेले भने, ‘सामुदायिक वन क्षेत्रमा संरचना बनाउन नपाउने भन्दै डिभिजन वन कार्यालयले पत्राचार गरेपछि मझुवागढीमा संग्रहाल नबन्ने भएको हो ।’
भवन निर्माणका लागि ठेक्का आह्वान गर्नअघि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले डिभिजन वन कार्यालय खोटाङलाई राय मागेको थियो । तर डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको मापदण्ड पूरा गरेर बृहत्, कङ्क्रिट, ठूला योजनाका संरचना बाहेकका अन्य संरचना निर्माण गर्न पाउने राय दिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिम राईले बताए । ‘सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले राय मागेअनुसार बृहत्, कङ्क्रिट, ठूला योजनाका संरचना बाहेकका पर्यापर्यटनको मापदण्ड पूरा गरेर संरचना निर्माण गर्न पाउँछ,’ उनले भने, ‘त्यसैअनुसार राय दिएको हो, भवन बन्ने नबन्नेबारे सम्बन्धित कार्यालयले भन्ने कुरा हो ।’
किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि मझुवागढीको पश्चिमतर्फ जंगल फाँडेर पर्खाल लगाइएको छ । उक्त पर्खाल लगाउन डोजरले सडक निर्माण गरिएको छ । संघीय सरकारको संस्कृति मन्त्रालयले नगरपालिकालाई वित्तीय हस्तान्तर गरी पठाएको ३६ लाख रूपैयाँको बजेटले उक्त काम गरिएको हो । उक्त बजेटले मझुवागढीमा रहेको वाबु राखिएको प्रांगणमा ढुंगासमेत बिच्छ्याइने नगर प्रवक्ता घिमिरेले बताए । तर गढीको आसपास कङ्क्रिटका अनावश्यक संरचना निर्माणले गढीको अस्तित्व संकटमा परेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।
मझुवागढीमा संग्रहालय निर्माण नहुने भएपछि किरात सेवा समाजको समाधिस्थलमा उक्त संरचना निर्माणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सिफारिस गरेको छ । किरात सेवा समाजले समाधिस्थलमा संग्रहालय निर्माण गर्न दिने निर्णयसहित निवेदन पेस गरेपछि उक्त ठाउँमै बनाउन सिफारिस गरिएको नगरप्रवक्ता घिमिरेको भनाइ छ ।
समाधिस्थल भएको ठाउँमा संग्रहालय निर्माणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङले समेत सिफारिस दिएको घिमिरेले बताए । ‘किरात सेवा समाजको समाधिस्थल वडा नं ५ मा पर्छ, त्यसैले ५ नम्बर वडाले पनि सिफारिस दिएको छ,’ उनले भने, ‘सघन सहरीका इन्जिनियरले संग्रहालय निर्माण गर्ने ठाउँको डिजाइन पनि गरिसकेको छ ।’
