लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको उद्धार

वैशाख ८, २०८२

आनन्द गौतम

Rescue of two foreign tourists who got sick from the lake

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा रहेको कञ्चनजंघा बेस क्याम्प गएका फ्रान्सेली नागरिक रज्जोक काइस र नादिनडेनिसे एन्जेल मिशेल लेक लागेर बिरामी भएपछि हेलिकोप्टबाट काठमाडौं लगिएको छ । ४९ वर्षका रज्जोक र ७२ का मिशेललाई घुन्साबाट फर्काइएको इलाका प्रहरी कार्यालय घुन्साले जानकारी दिएको छ ।

उनीहरु वैशाख ३ गते पाङपेमा बेसक्याम्प पगेका थिए । बिरामी भएपछि स्थानीय र प्रहरी समेतले ३१ सय मिटर उचाइको घुन्सामा ल्याएर मनाङ एयरको हेलिकोप्टरबाट फर्काइएको घुन्साका पर्यटन व्यवसायीले बताएका छन् ।

यतिबेला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा रहेका छन् । विदेशीहरुको बाक्लो उपस्थिति र हिमाल आरोहणको सिजन चलिरहेकाले तापेथोक, लेलेप, घुन्सा, ओलाङचुङगोला र याकफुदिनका प्रहरीलाई चनाखो भएर बस्न निर्देशन दिएको र केही परे तत्काल उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावल बताउँछन् ।

वैशाख अन्तिममा विश्वको तेस्रो अग्लो हिमाल आरोहणका लागि विदेशी र स्वदेशी गरी एक सय जना बढी कञ्चनजंघा हिमालको आधार शिविरमा रहेका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully