'नगरभित्रका निजी विद्यालयसमेत बन्द'
धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरभित्र निजी विद्यालयका सवारीसाधनमा रोक लगाएको छ । नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय गरेको जनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकालाई सुलभ तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउन अभिभावक र सरोकारवाला पक्षसँगको समन्वयमा उक्त निर्णय गरिएको नगर प्रमुख ध्रुवराज रायाले जनाएका छन् । रायाको हस्ताक्षरित विज्ञप्तिमार्फत नगरभित्र निजी विद्यालयसमेत बन्द गरिएको उल्लेख छ । यस्तै, शैक्षिक सत्र २०८२ मा अन्य पालिका र नगरपालिकाबाट निजी विद्यालयका सवारीसाधन प्रवेश गरेको गुनासो बढेपछि बन्देज गरिएको सूचनामा जनाइएको छ ।
महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेको दाबी गरिएको छ । उक्त नगरपालिकाभित्र लेगुवामा मात्र निजी विद्यालय सञ्चालनमा छ । अन्य सम्पूर्ण निजी विद्यालय बन्द गरिएको प्रमुख रायाले बताए ।
पालिका भित्रका निजी विद्यालय बन्द गरिए पनि अन्य पालिकाबाट निजीमा विद्यार्थी ओसारपसार गर्ने क्रम बढेपछि पालिकाले त्यसमा समेत बन्देज लगाएको जनाएको छ । दुई वर्षको अवधिमा महालक्ष्मीभित्रका तीन वटा विद्याय बन्द गराइएको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनेमा ढुक्क गराउँदै निजीमा नपठाउन भनिएको छ । 'बाहिर राखेर कसैले निजी विद्यालयमा पढाउनु फरक कुरा हो,' नगरप्रमुख रायाले भने, 'तर नगरभित्र अब निजी विद्यालयका गाडी ल्याएर विद्यार्थी ओसारपसार गर्न पूर्णतया निषेध गरिएको छ ।'
सूचना जारी भएको मितिबाट महालक्ष्मी नगरपालिका क्षेत्राधिकारभित्र कुनै पनि निजी विद्यालयका बस प्रवेश समेतमा बन्देज गरिएको उनले बताए ।
