ताप्लेजुङ — जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र चोरीमा गरी ११ वर्ष नौ महिना चार दिनको कैद सजाय तोकिएका प्रतिवादीलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।
फक्ताङलुङ गाउँपालिका-१ सावदिन घर भई झापाको दमक नगरपालिकामा बस्दै आएका हाल ४४ वर्ष उमेर पुगेका उक्तरे भन्ने तेजकुमार लिम्बूलाई प्रहरीले फक्ताङलुङ-१ सावादिन आएको मौका पारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
आपराधिक घटना गराएपछि फरार रहेका उनी कतार, मलेसियासमेत बसेर फर्किएको प्रहरीले जनाएको छ । उनले २०७० माघ ७ गते साँझ ३६ वर्षीय महिलाको घरमा गई खुकुरी देखाएर जबरजस्ती करणी गर्नुका साथै एक लाख रुपैयाँ चोरेका थिए । आफूमाथि आक्रमण भएपछि कराएकी महिलाको बचाउका लागि पुगेका उनका देवरलाई खुकुरी प्रहार गरी घाइते बनाएर लिम्बू फरार रहेको बस्नेतले जनाए ।
जिल्ला अदालत ताप्लेजुङले २०७६ ज्येष्ठ २८ मा गरेको फैसलाअन्तर्गत जबरजस्ती करणी र चोरी मुद्दामा छ वर्ष छ महिना कैद र दुई लाख २० हजार रुपैयाँ जरिवाना गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालतको जिम्मा लगाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
