ताप्लेजुङमा एमाले सचिव भट्टराईविरुद्ध नाराबाजी

शौचालय गएका भट्टराईलाई 'नो केबलकार' समूहले घेरा हालेपछि प्रहरीले शौचालयको चुकुल लगाएर सुरक्षा दिएको थियो

वैशाख ६, २०८२

आनन्द गौतम

Slogan raising against UML Secretary Bhattarai in Taplejung

ताप्लेजुङ — नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईविरुद्ध गृहजिल्ला ताप्लेजुङमा नाराबाजी भएको छ। पाथीभरामा केवलकार निर्माणका विषयमा भएको विवादमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराईसँग असन्तुष्ट 'नो केवलकार' समूहले शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा आएका उनको विरोधमा नाराबाजी गरेका हुन्।

शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्‌घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए।

फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा महोत्सव भइरहेको छ। महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो ।

प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गए। उनीसँगै रहेका सांसद योगेश भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे । जब भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए।

त्यहीक्रममा आन्दोलनकारीको संख्या थपिँदै गयो। आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो। केहीबेर पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आए । उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो।

भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेल भएको थियो। स्थानीयले भने आफूहरूमाथि कुटपिट भएको दाबी गरेका छन्। स्थानीय केदारजङ्ग ताप्मादेनले आफूहरूमाथि कुटपिट भएको बताए। तर प्रहरीले भने भीड तितरबितर पार्ने क्रममा ठेलाठेल भएको जनाएको छ।

ताप्मादेनले लिम्बू संस्कार सस्कृतिमाथि भट्टराईले प्रहार गरेकाले आफूहरूले विरोध स्वरुप प्रदर्शन गरेको बताए । भट्टराई कार्यक्रम स्थलमा आएपछि लिम्बू समुदायको च्याब्रुङ नाचपनि कार्यक्रम स्थलमा नदेखाइएको उनको भनाइ छ। च्याब्रुङ (केलाङ) नाच्नेहरू स्टेजमा फन्को लगाएर बाहिरिएका थिए। 'उहाँ लिम्बू समुदायको संस्कृतिप्रति पोजेटिभ हुनुहुन्नँ। च्याब्रुङ पनि देखाइएन,' उनले भने, 'साथीहरू स्टेजमा त पसे। तर विधि पुर्‍याएर नाचेनन् ।'

पाथीभरा मुक्कुमलुङ केवलकारको बिषयलाई लिएर नो केबलकार समूहले भट्टराईलाई कालो झण्डा देखाउने, विरोध गर्ने कार्य विगत देखिनै गर्दै आएका छन् । कोशी प्रदेशका सांसद राम रानामाथि भएको दुर्ब्यवहारको विषयमा प्रतिनिधिसभामा सांसद भट्टराईले असन्तुष्टि जनाएका थिए । त्यसपछि भट्टराईप्रति पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा भएको कञ्चनजंघा हिरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बो लिम्बू हुन् । फेम्बो लिम्बू केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक पनि हुन् । शुक्रबारको कार्यक्रम फेम्बुकै अध्यक्षतामा भएको थियो।

मन्त्री लगायतका पाहुनालाई हेलिकोप्टरबाट ओर्लिँदा स्वागत गर्न र बिदाइ गर्न फेम्बू स्वयं उपस्थित थिए । स्वागतको क्रममा फेम्बुले मन्त्रीलाई खादा लगाएको तर भट्टराई लगायतका अरु अतिथिलाई नलगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। भट्टराईविरुद्ध नाराजुलुस हुँदा फेम्बु भने मन्त्रीसँगै थिए। 

फेम्बुले भने समुदायले दिउँसो कार्यक्रमस्थलमै कालो झण्डा देखाउने र विरोध गर्ने कार्यक्रम बनाएपनि आफूले त्यस्तो नगर्न आग्रह गरेको बताएका छन्। भट्टराई आयोजकको निमन्त्रणामै लेलेप गएको समेत उनको सचिवालयले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully