बाराहापोखरी गाउँपालिकामा बसाइँ सरेर आउनेलाई एक लाख प्रदान

वैशाख ४, २०८२

डम्बरसिं राई

One lakh is provided to those who migrate to Barahapokhari Rural Municipality

खोटाङ — बाराहापोखरी गाउँपालिकामा बसाइँ सरेर आउनेलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । 

सप्तरीको सप्तकोसी नगरपालिका बलार्दहबाट बाराहापोखरी–६ मौवाबोटे बसाइँ सरेर आउने वेदबहादुर खड्कालाई बिहीबार एक लाखको चेक प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष सालिकराम बन्जराका अनुसार एक लाखको चेकसहित स्वागत गरिएको छ । 

२०६३ मा बसाइँ सरेर गएका खड्कासहित ४ जनाका परिवार छ महिनाअघि बसाइँ सरेर फर्किएपछि स्वागत गरिएको बन्जराले बताए । बसाइँ सरेर आउने जोकोहिलाई एक लाख रूपैयाँ दिने गाउँपालिकाको निर्णयअनुसार खड्कालाई प्रदान गरिएको बन्जराको भनाइ छ । 

‘बसाइँ सरेर डकुमेन्टसहित आएकालाई नगद एक लाख पुरस्कार दिने निर्णय छ,’ बन्जराले भने, ‘त्यसैअनुसार एक लाख रूपैयाँको चेकसहित स्वागत गरिएको हो ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully