पाँचथर — पाँचथर जिल्लाका स्थानीय तहमा क्रियाशील न्यायिक समितिका संयोजक र उजुरी प्रशासकहरूले न्याय सम्पादनलाई प्रभावकारी बनाउन समितिमा कानुन अधिकृत अनिवार्य पठाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
न्यायिक समितिमा दरबन्दी रहने व्यवस्था भए पनि जिल्लाका कुनै पनि स्थानीय तहमा कानुन अधिकृत छैनन् । जसले मेलमिलापकर्ता र न्यायिक समितिलाई उजुरी लिन, उपल्लो तहमा मुद्दा प्रेषित गर्न र भाँती पुर्याएर कागज गर्न समस्या भइरहेको उनीहरूको भनाइ थियो ।
मेलमिलाप परिषद्ले बिहीबार पाँचथरको फिदिममा आयोजना गरेको मेलमिलापसम्बन्धी अन्तरक्रियामा सहभागी पालिकाका उपाध्यक्ष र उजुरी प्रशासकहरूले न्यायिक समितिमा देवानी मात्रै नभएर केही जटिल प्रकृतिका फौजदारी मुद्दासमेत आउने गरेकाले तिनको प्रक्रिया अगाडि बढाउन कठिनाइ भोग्नु परेको अनुभव सुनाए ।
तुम्वेवा गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्वाहाम्फेले न्यायिक समितिमा रहेका जनप्रतिनिधि र कर्मचारी कानुनका विद्यार्थी नहुँदा न्याय सम्पादनमा समेत प्राविधिक कठिनाइ हुने गरेको बताए ।
फिदिम नगरपालिकाकी उजुरी प्रशासक सरस्वती सिवाकोटीले न्यायिक समितिका पदाधिकारी र कर्मचारीलाई पुनर्ताजगी र एड्भान्स तालिममा सहभागी गराउनु पर्नेमा जोड दिइन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै क्षमता अभिवृद्धि र क्षेत्राधिकारका विवाद निरुपण गर्ने तालिम दिन सके कार्य सम्पादनमा सहज हुने उनको भनाइ थियो ।
अधिवक्ता तथा सूचीकृत मेलमिलापकर्ता युधिष्ठिरराज आमगाईले मेलमिलापकर्ताले पाउने पारिश्रमिक अत्यन्तै न्यून रहेकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।
याङवरक गाउँपालिकाका उजुरी प्रशासक गणेश खतिवडाले मेलमिलापकर्ताका लागि आवश्यक शैक्षिक योग्यता स्नातक तह तोकिएको तर ग्रामीण क्षेत्रमा स्नातक उत्तीर्ण स्वयंसेवक पाउनै मुस्किल रहेकाले शैक्षिक योग्यता पनि हेरफेर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार सेर्मा, फाल्गुनन्द गाउँपालिकाका उजुरी प्रशासक थमराज न्यौपाने, कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, फालेलुङ गाउँपालिकाका न्यायिक प्रशासक गिरिराज भण्डारीले आ–आफ्नो पालिकामा न्यायिक समितिले सम्पादन गरेका क्रियाकलापको रुपरेखा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै मेलमिलाप परिषद् अध्यक्ष कुमार रेग्मीले स्थानीय तह मातहतका न्यायिक समिति र मेलमिलापकर्ताले विवाद समाधानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
कुनै पनि विवाद र मुद्दाको निरुपण मेलमिलापबाट गर्दा कसैको हार नहुने भएकाले पछिल्लो समय अदालतले पनि मेलमिलापको नीतिलाई अंगीकार गरेको उनको भनाइ थियो ।
अन्तरक्रियामा हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, उच्च अदालत विराटनगर–इलामका मुख्य न्यायाधीश पिपुल न्यौपाने, सर्वोच्च अदालतका सह–रजिस्टार अर्जुन कोइराला र पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केले न्यायिक सिमितिको प्रभावकारिताबारे आ–आफ्ना धारणा राखेका थिए ।
