चुनकुमारी हत्या प्रकरण : श्रीमान‍्कै योजनामा हत्या, ६ जना पक्राउ

वैशाख ४, २०८२

एलिना राई

Chunkumari murder case: Murder planned by husband, 6 arrested

धरान — धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिकाकी ३४ वर्षीया चुनकुमारी दाहालको हत्यामा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । श्रीमान् प्रेमबहादुर बुढाथोकीको योजनाअनुसार चुनकुमारीको हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।

बिहीबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै एसपी तिम्सिनाले यो घटनामा प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान गरिरहेको बताए ।

प्रकाउ पर्नेमा मृतकका श्रीमान् प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका–३ संगम चोकका ढकेन्द्र बुढाथोकी, उनकी श्रीमती सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका–७ लुमाङदिङ घर भई मोरङ उर्लाबारी नगरपालिका–५ फागुटोल बस्ने योगेन्द्र गौतम, डेनु गौतम र मोरङ पथरी शनिश्चरे नगरपालिका–३ बस्ने केशवराज दाहाललाई ज्यानसम्बन्धी कसुरमा प्रकाउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दुर्गा दाहालले बताए । अर्का एक जना भारतीय नागरिक आसाम खकन बस्ती बस्ने राजु थापा मगर भने फरार रहेको उनले बताए । गत चैत २५ गते धरान–६ पाँचकन्या सामुदायिक वनभित्र रुखको फेदमा झोलाको जस्तो देखिने फित्ता घाँटीमा बेरिएको अवस्थामा दाहालको अर्धनग्न शव फेला परेको थियो ।

मृतक महिला दुई वर्षदेखि इटहरीको हलगडामा १४ वर्षको छोरासँगै भाडामा बस्दै आएकी थिइन् । छोराको परीक्षा सकेर शनिबार नै मावली गएको र घरमा एक्लै रहेकी उनी आइतबार बिहान देवरसँग स्कुटर सिक्न निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका लागि कोरियामा रहेका चुनकुमारीका श्रीमान् प्रेम गत पुसमा बिदामा घर आएका थिए । उनी माघ १६ गते कोरिया फर्केका हुन् ।

श्रीमान‍्ले सम्बन्धविच्छेद माग गर्दा नमानेका कारण बिदामा आएका बेला श्रीमतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले बताए ।

घटनामा संलग्नमध्ये ढकेन्द्र बुढाथोकी, निजकी श्रीमती सृष्टि बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाललाई गत चैत २९ गते घरबाट पक्राउ गरिएको, योगेन्द्र गौतमलाई चैत ३० गते नेपाल–भारत सिमाना काँकडभिट्टाबाट पक्राउ गरिएको र मुख्य योजनाकार मृतक दाहालका श्रीमान्लाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी ज्यान कसुर मुद्दामा म्याद थप गरिएको प्रहरी निरीक्षक दिवश कुवँरले बताए । 

घटनामा प्रयोग भएको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल, मधेश प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully