जिप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

वैशाख ३, २०८२

रासस

Driver killed, co-driver seriously injured in jeep accident

ताप्लेजुङ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र  स्वास्थ्यकर्मीले जाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

बुधबार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा सहचालक फिदिम नगरपालिका–३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ । सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । 

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल तापेथोक प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ ।

रासस

Link copied successfully