ताप्लेजुङ — कञ्चनजंघा हिरक महोत्सवको अवसरमा हुने अन्तरपालिका भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । वैशाख ३ गतेको उद्घाटन खेल फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाबीच हुनेछ ।
यही दिन हुने दोस्रो खेलमा मिक्वाखोला र सिरिजङ्गा गाउँपालिका आमनसामने हुनेछन् भने ४ गते तेस्रो खेल सिदिङ्वा र पाँचथरको याङ्वरक गाउँपालिकाबीच हुनेछ । यसैदिन हुने चौथो खेलमा पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङदेन गाउँपालिका खेल्नेछन् । यसपछि सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् ।
विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणको ७० औं वर्ष पूरा भएको अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को प्रायोजन तथा आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । परिषद, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय, समृद्ध पहाड परियोजना लगायतको सहभागिता तथा साझेदारीमा वैशाख ५ देखि ७ गते सम्म फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा हिरक महोत्सव हुँदैछ ।
प्रतियोगितामा ताप्लेजुङका आठराई त्रिवेणी र मैवाखोला बाहेक ७ र पाँचथरको याङवरक गाउँपालिका गरी ८ टिमको सहभागिता छ । प्रतियोगिता नकआउटका आधारमा खेलाइने जिल्ला भलिबल संघले जनाएको छ ।
व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार विजेताले नगद २ लाख ८ हजार र उप विजेताले १ लाख ८ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय तथा विधागत पुरस्कारको व्यवस्था गरिएको लिम्बूले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई ५ हजारसहित उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर र उत्कृष्ट क्विकरलाई ३ हजार ५ सयका दरले पुरस्कृत गरिने छ । प्रतियोगितामा १० लाख खर्च हुने अनुमान आयोजनकको छ ।
