किसानलाई सम्मान गर्दै सकियो चौंरी पर्यटन महोत्सव

वैशाख २, २०८२

लक्ष्मी गौतम

Chaunri tourism festival ended with respect to farmers

पाँचथर — चौंरीपालक किसान लक्षित कार्यक्रम गर्दै पाँचथरको फालेलुङमा आयोजित आठौं फालेलुङ चौंरी पर्यटन महोत्सव सकिएको छ ।

चैत ३१ मा सुरु महोत्सव मंगलबार सकिएको हो ।  महोत्सवको अवसरमा फालेलुङमा पहिलोपटक चौंरी पालन व्यवसाय सुरु गरेका देवीप्रसाद नेपाल र तेञ्जिङ भोटियालाई सम्मान गरिएको थियो । अरू तीन किसानसमेत पुरस्कृत भएका छन् ।

नेपाल र भोटियालाई चौंरी पर्यापर्यटन महोत्सव उद्घाटन समारोहमा कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सांसद मैया श्रेष्ठ लावती लगायतले दोसल्ला र कदर पत्रमार्फत सम्मान गरे । उत्कृष्ट चौंरीपालकका रूपमा शर्मिला राई, रङ्गम मगर र फिपराज केरुङ पुरस्कृत भएका छन् । उनीहरुलाई नगद र प्रशंसापत्र मार्फत पुरस्कृत गरियो ।

महोत्सवमा चौंरीपालक व्यवसायीबीच फुटबल र डोरी तान्ने प्रतियोगिता समेत गरिएको छ । याक डान्ससहित नेपाली मौलिक संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो ।

गाउँपालिका मुख्य प्रवर्तक रहेको आठौं फालेलुङ चौंरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजंघा पर्यापर्यटन संस्था र दीपज्योति युवा क्लब लगायतले आयोजना गरेका हुन । २०७३ सालदेखि महोत्सव हुँदै आएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully