'अटो'मा मनपरी भाडा, यात्रु मारमा

चैत्र ३०, २०८१

डम्बरसिं राई

Arbitrary fares on 'auto', on passenger charges

खोटाङ — खोटाङमा सञ्चालित 'अटो रिक्सा' ले महँगो भाडा असुल्दा यात्रु मारमा परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अघिल्लोपटक प्रतिकिलोमिटर २० रूपैयाँ भाडा निर्धारण गरिए पनि पछिल्लो समय भाडा निर्धारण नहँदा यात्रु मारमा परेका हुन् ।

दिक्तेलबाट निर्मलीडाँडा जाँदा दुई हजार तिर्नु पर्ने निर्मलीडाँडाकी लुङ्मा राईले बताइन् । दोर्पाको वालिङबाट दिक्तेल आउँदा दुई जनाको पाँच सय तिर्नु परेको बुद्धहिरा तामाङको भनाइ छ ।

नगरपालिकामा करिब ६० वटा अटो सञ्चालनमा छन् । एलम्बर हाङ अटो सेवा प्रालिका अध्यक्ष बिचारी राईले इन्धनको मूल्य बढे पनि भाडा नबढाइएको जिकिर गरे । ‘हामीले भाडा बढाएका छैनौं, बरु इनधनको मूल्य बढेर आकाश छोएको छ,’ उनले भने ।

हलेसी तुवाचुङ नगरपालिकामा दर निर्धारण नगरिए पनि प्रतिकिलोमिटर एक सय रूपैयाँले भाडा लिने गरेको हलेसी अटो यातायात प्रालिका अध्यक्ष भक्त राईले बताए । हलेसी तुवाचुङमा कच्ची सडक रहेकाले यात्रु र अटो बीचको सहमतिमा सेवा प्रदान गरिँदै आएको उनको भनाइ छ । 

हलेसीबाट दिक्तेलसम्म २५ सय रूपैयाँ लिने गरेको उनले बताए । उनका अनुसार हलेसी तुवाचुङमा अटो यातायात प्रालिमा २९ वटा अटो आबद्ध छन् । 

यात्रुबाट महँगो र मनपरी भाडा असुल्दा समेत स्थानीय सरकार र प्रशासन बेखबर बनेको छ । प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले यस्तो बेथिति नियन्त्रण गर्न अब नियमन गर्ने बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully