फोक्सिङटार पुल पुनर्निर्माण गर्न ३५ करोडको स्रोत सुनिश्चित

चैत्र ३०, २०८१

राकेश नेपाली

Resources of 35 crores secured for reconstruction of Foxingtar Bridge

उदयपुर — उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल पुनःनिमार्णका लागि अर्थ मन्त्रालयले ३५ करोड बजेट स्रोत सुनिश्चित गरेको छ । असोज १२ गते सुनकोशी नदीको बाढीले बगाएको पुल पुनःनिमार्णका लागि मन्त्रालयले करबि ७ महिनापछि स्रोत सुनिश्चित गरिदिएको हो । १२ वर्ष लगाएर निमार्ण सम्पन्न भएपछि हस्तारन्तरणको तयारी हुँदै गर्दा पुल बाढीले बगाएको थियो ।

अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिदिएपछि पुल निमार्णको कार्य चाँडै सुरु हुने गाईघाट दिक्तेल सडक योजनाका प्रमुख पशुपति ज्ञवालीले बताए । ‘मन्त्रालयले बजेटको स्रोत सुनिश्चत गरिदिएपछि अब कसरी पुल निमार्ण गर्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘सडक विभागबाट निर्देशन आएपछि काम अघि बढ्छ ।’

पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेबमोजिम बजेट सुनिश्चत भएको संविधानसभा सदस्य विशाल भट्टराईले बताए । पुलको डिजाइन टुंगो लागेपछि ठेक्का खुल्ने बताइएको छ ।  

खोटाङको खोटेहाङ गाउापालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने १ सय २० मिटर लामो सुनकोसी नदीको पुल बाढीले बगाएपछि लामो समय उदयपुर–खोटाङ यातायात सेवा अवरुद्ध भएको थियो । ठेकेदारको ढिलासुस्तीले निमार्ण सुरु भएको १२ वर्षपछि सञ्चालनमा आएको पुल ८ महिनामै भत्किएपछि हिउँदमा सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी पुस ७ गतेबाट अस्थायी रुपमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो ।

सगरमाथा राजमार्गअर्न्तगत गाईघाट–दिक्तेल सडक खोटाङ र उदयपुरलाई जोड्ने छोटो दुरीको सडक हो । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully