फुङलिङ नगरपालिकाले दिएको शोक बिदा विवादमा

चैत्र २९, २०८१

आनन्द गौतम

Controversy over bereavement leave given by Fungling Municipality

ताप्लेजुङ — फुङलिङ नगरपालिकाले चैत्र २९ गते शुक्रबारका लागि दिएको शोक बिदा विवादमा परेको छ । २०७३ चैत्र २० देखि ७४ साल असोज ८ गतेसम्म कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका युवराज ढकालको बुधबार निधन भएपछि शुक्रबार शोक बिदा दिने निर्णय बिहीबार नगरपालिकाले गरेको थियो ।

नगरपालिकाको निर्णयप्रति वडाहरुले आपत्ति जनाएका छन् । वडा नम्बर ४ का वडाध्यक्ष दुर्गा पालुङवाले वडा खुला रहने जनाएका छन् ।

'बिदाको निर्णय कार्यपालिकाको निर्णय बिना भएको जानकारी गराउँदछु,' वडाध्यक्ष पालुङवाले फेसबुकमा लेखेका छन्, 'सेवा बन्द हुने छैन ।'

काठमाडौंमा रहेका नगरपालिका प्रमुख अमिर मादेनले आफ्नो निर्देशनमा बिदा दिएको बताए । बिदाको सूचनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखेर हस्ताक्षर गरेपनि हस्ताक्षर कर्ताको नाम उल्लेख छैन । नगर प्रमुख मादेन, उपप्रमुख भिमा ओझा र प्रमुख प्रशासकिय अधिकृत कृष्ण गौतम जिल्ला बाहिर रहेको नगरपालिका प्रवत्ता मोहन न्यौपानेले जानकारी दिए । नगरपालिकाले अत्यावश्यक बाहेकको सेवा बन्द हुने जनाइएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully