विराटनगर — कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारीसाधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । शुक्रबार जोगबनी नाकाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अभियानको शुभारम्भ गरे ।
आगामी २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल यात्रा अनुभव प्रदान गर्न यो अभियान सुरु गरेको जनाएको छ ।
भारतबाट आउने पर्यटकलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागिएको हो । स्टिकर टाँसेका सवारीलाई नाकामा एकपटक जाँच गरेपछि अन्य स्थानमा प्रहरीले जाँच गर्न नपाउने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्री कार्कीले स्टिकर टाँसेपछि पर्यटकले भोग्नुपर्ने अनावश्यक झन्झट र दुःख हट्ने र यसले कोशी प्रदेशको पर्यटन वर्षलाई सफल बनाउने विश्वास व्यक्त गरे । 'नेपालीहरूको मूल मर्म अतिथि देवो भव हो, अतिथिको सम्मान गर्नु हाम्रो दायित्व हो,' कार्कीले भने । उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने कुरामा जोड दिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा पुनः जाँच गरिने जानकारी दिए ।
कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पनि पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गरे ।
कोशी प्रदेश सरकारले वैशाख १ देखि पशुपतिनगर, काँकडभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ । प्रहरी र कर्मचारी राखेर सानो कार्यालयसमेत स्थापना गरी यो काम अगाडि बढाइएको छ ।
