वर्षाले ह्युमपाइप थुनिँदा निर्माणाधीन पुल भाँचियो

सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी–२ सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति

चैत्र २८, २०८१

राकेश नेपाली

A bridge under construction collapsed when the rain blocked the hump pipe

उदयपुर — सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–२ सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको छ । सिमानपुरस्थित अमाह खोलामा प्रिस्टेड प्रविधिअन्तर्गत निर्माण भइरहेको पुल बिहीबार बिहानको ठूलो पानीका कारण भाँचिएर क्षतिग्रस्त बनेको हो ।

चैत ८ गते ढलान सम्पन्न भएको पुलको निर्माण सकिनै लाग्दा पुल भत्किएको मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश शाहले बताए । ५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइप थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ । उनका अनुसार ढलान भएको २० दिन मात्रै भएको थियो ।

सूर्य एन्ड सन धरानले २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजारमा जिम्मा लिएको थियो । कटारीस्थित ताराघारीमा पुलको ‘फाउन्डेसन’ नै उठाउन बाँकी छ भने गिद्धेबर, ताराघारी र सिमानपुरको पुल निमार्णाधिन अवस्थामा छ । 

निर्माण सम्पन्न नहुँदै सिमानपुरको पुलमा क्षति पुगेपछि स्थानीयले वर्षामा यसपालि पनि सास्ती भोग्नुपर्ने भएको छ । मिर्चैया–कटारी–घुर्मी सडक योजनाका प्रमुख पशुपति ज्ञवालीले भने, ‘यस्तो मौसममा पानी आउँछ भन्ने अनुमान भएन, अचानकको वर्षाले बाढी ल्याउँदा पुलमा क्षति भयो ।’ पुल पूरै भत्काएर बनाउनुपर्ने भएकाले निर्माण एक वर्ष पर धकेलिएको उनले बताए । भत्किएको पुल निर्माण कम्पनीले नै बनाउनुपर्ने उनको भनाइ छ ।

७२ किलोमिटर लामो मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति तथा विस्तारका लागि वातावरण मन्त्रालयबाट ईआईए स्वीकृत गरेर अर्थ मन्त्रालयमा ढिला पुगेकाले यस वर्ष ठेक्का लाग्ने सम्भावना कम रहेको योजनाका इन्जिनियर महेश शाहले बताए । प्रतिवेदन अनुसार सडक स्तरोन्नतिका लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको छ । 

योजनाअन्तर्गत ४ वटा लामो पुल र ७ वटा सानो पुल, २ सय ८९ वटा पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कज-वे निर्माण गर्नुपर्नेछ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully