तेह्रथुम — कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर बुधबारदेखि कोशी पर्यटन वर्ष सुरु गर्दैछ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जनाए । तेह्रथुमको प्रसिद्ध तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने भनिएपनि अन्तिम समयमा ओली नआउने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्ने छन् । मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष सुरु लागिएको जनाए । उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरे ।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।
पर्यटन वर्ष भव्यताका साथ मनाउनको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी कामलाई अगाडि बढाइएको छ । कोशी प्रदेश सरकारले पर्यटन कार्यालय काँकडभिट्टा र धरानलाई समेत यो कार्यमा परिचालन गरेको छ ।
