कोशी प्रदेश सरकारका दुई निर्णय सच्याउन ताप्लेजुङका तीन पालिका प्रमुखको माग 

चैत्र २६, २०८१

आनन्द गौतम

The demand of the three municipal heads of Taplejung to correct two decisions of the Koshi state government

ताप्लेजुङ — कोशी प्रदेशका पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा तीन पालिका र प्रदेशका रूपान्तरणकारी कार्यक्रममा ताप्लेजुङ जिल्लालाई नै नसमेटेको प्रति जिल्लाका तीन गाउँपालिकाले गम्भीर आपत्ति जनाएका छन् । मेरिङदेन गाउँपालिकामा संयुक्त भेला गरेका मैवाखोला र मिक्वाखोला समेतका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रदेश सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

नेपाल र स्विस सरकारको दुई पक्षीय सम्झौता अनुसार यसै वर्षदेखि सञ्चालन हुने कोशी प्रदेश पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा ताप्लेजुङका पालिका नसमेटिएको प्रति दु:ख व्यक्त गरिएको छ । यो परियोजनामा मैवाखोला, मेरिङदेन र मिक्वाखोला गाउँपालिका समेटिनुपर्ने उल्लेख छ । यो परियोजना अन्तर्गतको लालीगुँरास पदमार्गमा यी पालिका पनि पर्नुपर्ने प्रस्ताव गरिएको छ । 

लालीगुराँस पदमार्गमा कोशीका २९ वटा स्थानीय तहलाई भौगोलिक क्षेत्रमा जोड्ने उल्लेख छ । यो एक सय ६० किलोमिटरको हुन्छ । जिल्लाका यी तीन पालिका लालीगुँरासले ढाकिने क्षेत्र हुन् । ‘परियोजना निर्माणमा लागत साझेदारी, रोयल्टी बाँडफाँड र स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगमा स्थानीयको अग्राधिकार हुने कानुनी व्यवस्थालाई बर्खिलाप हुने गरी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघि सारेको उक्त परियोजनामा गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गर्दछौँ’ संयुक्त विज्ञप्तिमा भनिएको छ । 

यो पदमार्ग परियोजना निर्माण गर्दा लालीगुराँस पदमार्गमा जलजले, तीन पोखरी, सोदुपोखरी तोप्केगोला, ओलाङ्चुङ गोलासम्मलाई जोड्न काग गरिएको छ । अहिले भने यसमा तुम्लिङटार,  खाँदबारी, नुम, गुफापोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के सम्मको मापदण्ड राखिएको छ ।

यस्तै, कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका १९ वटा रूपान्तरणकारी कार्यक्रम छनोट गर्दा ताप्लेजुङ जिल्लालाई नसमेटिएको प्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । जैविक विविधता तथा प्राकृतिक स्रोतको प्रचुर सम्भावना भएको र यहाँ सञ्चालन गरिने परियोजनाहरूमार्फत् सिङ्गो प्रदेशकै आर्थिक वृद्धिदरमा समेत टेवा पुग्ने भएकाले रूपान्तरणकारी कार्यक्रममा यसरी बाहिर नराख्न आग्रह पनि गरिएको छ । 

प्राकृतिक विपद् व्यवस्थापन लगायतको क्षेत्रमा तीन वटा गाउँपालिकाले समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि तीन पालिका प्रमुखले गरेका छन् । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, मेरिङदेनका युक हां विर हाङ्गाम (डम्बर) र मिक्वाखोलाका भक्त बहादुर कार्कीले संयुक्त विज्ञप्ति समेत प्रकाशित गरेका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully