पाँचथर — नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)लाई मंगलबार पाँचथरमा अभिनन्दन गरिएको छ ।
फाल्गुनन्द गाउँपालिका २ स्थित किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको समाधिस्थल रहेको धार्मिक क्षेत्र सिलौतीमा आयोजित कार्यक्रममा काइँलालाई अभिनन्दन गरिएको हो ।
साङसेन, माङहिम सेवा समिति नाम्फुङयक सिलौती पाँचथरले आयोजना गरेको कार्यक्रममा उनलाई विशिष्ट अतिथिको आसनबाट संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले अभिनन्दन पत्र प्रदान गर्नुका साथै माङहिम सेवा समितिका पदाधिकारीले दोसल्ला ओढाएर अभिनन्द गरेका थिए ।
पाँचथरको फाल्गुनन्द–३ पौवासारतापमा जन्मेका बैरागी काइँलाले साहित्य साधना र राजनैतिक चेतनासहित नेपाली र लिम्बू भाषा तथा साहित्यमा पुर्याएको योगदानको कदरस्वरुप अभिनन्दन गरिएको आयोजक साङसेन माङहिम सेवा समितिका अध्यक्ष रामकुमार नेम्वाङले बताए ।
यसअघि फाल्गुनन्द–४ राँके बजारमा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको साहित्य महोत्सव र सारताप मावि पौवासारतापमा आयोजित कार्यक्रममा पनि काइँलालाई अभिनन्दन गरिएको थियो ।
१९९६ साउन २५ गते पाँचथरको फाल्गुनन्द– ३ (साविक पौवासारताप)मा जन्मेका नेम्वाङ आयामेली कवि हुन् । उनका नेपाली भाषामा ‘फूल, पात र पत्कर’, ‘बैरागी काइँलाका कविताहरू’, ‘अन्धा मान्छेहरू र हात्ती’सहित लिम्बू भाषामा दर्जन बढी पुस्तक प्रकाशित छन ।
उनी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति बनेका हुन् । बैरागी काइँलाले यसअघि सिलौतीस्थित साङसेन माङहिमलाई साढे दश रोपनीभन्दा धेरै जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उनले जिल्लाको सामाजिक क्षेत्रमा पनि योगदान पुर्याएका छन् ।
