पाँचथर — पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा नरेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । प्रतिस्पर्धी रेखा इङनाम लावतीलाई ५ सय १० मतान्तरले हराउँदै अधिकारी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा ९ सय ६६ मत खसेका थिए । जसमध्ये ८ सय ९८ मत सदर भएका थिए । जसमध्ये अधिकारीले ७ सय ४ मत प्राप्त गर्दा इङनामलाई १ सय ९८ मत प्राप्त भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
संघको चार जना उपाध्यक्षहरुमा दिपेश गुप्ता, सूर्यकुमार मगर, शिव अधिकारी र उमानाथ अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेश काफ्ले निर्वाचित भएका छन् । महासचिव पदमा भने चन्द्रप्रसाद काफ्ले निर्विरोध निर्वाचित भएका थिए ।
सदस्यहरुमा भिमबहादुर कार्की, योगराज सेढाई, निर्मल श्रेष्ठ, याम ढुङ्गाना, केशव पौडेल, भविन मोक्तान, तिलरुपा पोखरेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदन कालिकोटे र नारायण दाहाल तथा महिला सदस्यमा चन्द्रकला थापा निर्वाचित भएका छन् ।
संघको निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा प्रतिस्पर्धामा थिए । उनीहरु सत्ता गठबन्धन र गठबन्धन इतरका दल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले नरेन्द्रप्रसाद अधिकारी नेतृत्वमा प्यानल बनाएका थिए भने कांग्रेस एमाले इतर माओवादी र जनता समाजवादी पार्टीसहितका दलले भने लावतीलाई अध्यक्ष पदमा अगाडि सारेका थिए ।
मतगणना आइबार राति ढिलागरी सम्पन्न भएको हो ।
