विराटनगर — आन्तरिक विवाद र असन्तोषबीच नेकपा एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीको नयाँ नेतृत्व आइतबार घोषणा गरिएको छ ।
अधिवेशनको छैटौं दिन आइतबार विराटनगरस्थित पार्टी कार्यालयमा टाँसिएको नामावलीमा चन्द्रवीर राईलाई पुनः अध्यक्षको जिम्मेवारी तोकिएको छ । राई अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिए ।
अध्यक्ष पदका दावेदार रहेका उद्धव पोखरेललाई उपाध्यक्ष बनाउने प्रस्ताव पार्टी अध्यक्ष मण्डलले राखेको थियो । तर, पोखरेलले अध्यक्ष मण्डलको प्रस्ताव ठाडो अस्वीकार गरेपछि उनको नाम सूचीबाट हटाइएको छ । पोखरेल यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए । अध्यक्ष पदमा उनी दावी गर्दै आएका थिए ।
राई पुनः अध्यक्ष बन्ने भएपछि उपाध्यक्ष पदमा दोहोर्याउन पोखरेललाई पार्टी नेतृत्वले दबाब दिएको थियो । तर उनले अस्वीकार गरे । अध्यक्षमा राई र उपाध्यक्षमा दीपक ढकाल चयन भएका छन् । सचिवमा तुलसी ढकाल, उपसचिवमा डिबी थापा, भूपाल बस्नेत र सुमित्रा राईको नाम उल्लेख छ ।
प्रतिनिधिहरूलाई घरघर पठाएर आफूमाझ नेतृत्व छान्न जुटेका नेताहरूले जिल्ला कमिटीको नामावली ‘सहमतिमा’ घोषणा गरेको दाबी गरे पनि कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्दै यो कदमलाई ‘केन्द्रद्वारा थोपिएको निर्णय’ का रुपमा व्याख्या गरेका छन् ।
एक महिला नेतृले भनिन्,‘प्रतिनिधिहरूलाई भूमिकाबिहीन बनाइयो । उम्मेदवारी सार्वजनिक नगरिकन नाम घोषणा गरेर अलोकतान्त्रिक र पारदर्शी अभ्यास गरियो ।’
गत चैत १९ गते पार्टी अध्यक्ष माधवकुमार नेपालले अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशन २ दिनमा समाप्त हुने भनिएको थियो । तर, नेतृत्व चयन प्रकृयामा अलमल हुँदा समय तन्किएर ६ दिन टाढा पुगेको थियो ।
यसैबीच बलदेव चौधरी नेतृत्वको अध्यक्ष मण्डलले ७८ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो । जसमा १३ सदस्य पछि थप गरिने बताइएको छ । तर, नामावली टाँसिएको केही समयपछि नै मोरङका कार्यकर्ताहरू चौधरी भेट्न इटहरी पुगेका थिए ।
