पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि मतदान सुरु

चैत्र २४, २०८१

लक्ष्मी गौतम

Voting for the leadership selection of Panchthar Chamber of Commerce and Industry has started

पाँचथर — पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । १३ औं साधारण सभा तथा अधिवेशनको कार्यतालिका अनुसार शनिबार बिहान ९ बजेदेखि मतदान भइरहेको हो।

संघको अध्यक्ष पदका लागि सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट व्यवसायीकार्तफबाट नरेन्द्रप्रसाद अधिकारीको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ भने विपक्षी दलहरूनिकट व्यवसायीले रेखा इङनाम लावतीको नेतृत्वमा प्यानल खडा गरेका छन्।

महासचिव पदमा भने गठबन्धनकै चन्द्र काफ्ले निर्विरोध निर्वाचित भइसकेका छन्। चार जना निर्वाचित हुने उपाध्यक्ष पदमा ६ जनाको उम्मेद्वारी परेको छ। उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य पदमका लागि मतदान भइरहेको निर्वाचन अधिकृत सहमान विश्वकर्माले बताए ।

१ हजार ३ सय ६९ मतदाता रहेका संघको निर्वाचनमा बिहान पौने १२ सम्म दुई सय बढी मत खसेको छ । अधिवेशनको उद्घाटन प्रमूख अतिथिको आसनबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले गरेका थिए । 

उद्घाटन समारोहमा बोल्दै बैद्यले व्यवसायीहरुको सुरक्षा सॅगै लगानी मैत्री वातावरण बनाउने जिम्मा सरकारको रहेको टिप्पणी गरे। अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय सदस्यहरु, छिमेकी जिल्लाका अध्यक्ष र पदाधिकारीसँगै जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरू सहभागी थिए। 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully