सोलुखुम्बु — सोताङ गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वडा नं. २ बाट जुके भन्ने स्थान जाँदै गरेको प्र–३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो जीप सडकबाट खस्दा उक्त गाडीमा सवार ३० वर्षीया सरिता राईको मृत्यु भएको हो।
शनिबार बेलुका समान बोकेर जुके पुगेको उक्त गाडी चिप्लिएर करिब ३ सय मिटर तल भीरमा झरेर दुर्घटना हुँदा सरिता र उनको १८ महिनाको बच्चा घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि सोताङ अस्पताल लैजाँदै गर्दा सरिताको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। १८ महिने बच्चा रेवन राईको भने उपचार भइरहेको छ। गाडीमा सवार अन्य २ यात्रु भने सकुशल रहेका छन्।
चालक ४३ वर्षीय प्रेम राई प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
