धनकुटाको उत्तरपानीको आगलागीमा ३ घर जले, ११ करोड ६ लाखको क्षति

चैत्र २४, २०८१

रमेशचन्द्र अधिकारी

In Dhankuta's Uttarpani fire, 3 houses were burnt, loss of 116 crores

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका–९ उत्तरपानीस्थित बुद्धचोकमा शनिबार साँझ भएको आगलागीबाट तीन वटा घर जलेका छन् । घटनामा एघार करोड ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय अमर श्रेष्ठको दुई तले घर, पसलमा रहेको सम्पूर्ण सामग्री नष्ट भएको छ । 

किराना होलसेल पसलमा रहेको सम्पूर्ण सामान, नगद ५ लाख र गरगहना पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमन खड्काले बताए । त्यही घरसँगै रहेको श्रेष्ठकै निर्माणाधीन दुई तल्ले पक्की घरमा समेत क्षति भएको जनाइएको छ । 

अमर श्रेष्ठको घरबाट सुरु भएको आगोले खगेन्द्र घिसिङको दुई तले निर्माणाधीन घर आंशिक रुपमा क्षति हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको मद्दतमा ११ बजे आगलागी नियन्त्रणमा आएको थियो । पसलमा खाना पकाउने ग्यास, पेट्रोलसमेत रहेकोले आगोले क्षणभरमै ठूलो क्षति भएको स्थानीयले बताएका छन् । 

घरधनी अमरका छोरा अदिपका अनुसार खाना खाइरहेको बखत पसल रहेको ठाउँबाट धूवाँ देखिको थियो र निभाउने प्रयास गर्दागर्दै क्षणभरमै सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully