उदयपुरमा आगलागी : एक घर जलेर नष्ट, ९९ लाखबराबरको क्षति

चैत्र २४, २०८१

राकेश नेपाली

Fire in Udaipur: One house burnt down, loss of Rs 99 lakh

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–१५ गुरुधाममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतबार बिहान कुखुरा फर्मबाट लागेको आगोले स्थानीय महावीर कटुवालको २ तले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट कटुवालको दुई तले (एक तला पक्की र माथिल्लो तला काठले बनेको टिनको छानो भएको) घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।

बिहान ४ बजे घरसँगै रहेको कुखुराको फार्मबाट सल्केको आगो बिहान ६ बजे स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेको नगद ६ लाख, ५ तोला सुन, ५ तोला चाँदी, फर्निचर,  अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेर जलेर नष्ट भएको छ ।

कुखुरा फार्ममा रहेका ५५० वटा कुखुरा आगलागीमा परी मरेका छन् । आगलागीबाट अन्दाजी ९९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully