हलेसीमा तीर्थालुको भीड

चैत्र २३, २०८१

डम्बरसिं राई

Pilgrims flock to Hallesi

खोटाङ — विश्वप्रशिद्ध हलेसीमा रामनवमीको अवसरमा तीर्थालुको भीड लागेको छ । शनिबारमात्र पाँच हजार बढी तीर्थालु हलेसी आएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार नेपालबाहेक अमेरिका, चीन, भारत, भुटान, मलेसिया लगायतका तीर्थालु हलेसी आएका छन् । हलेसी आएका करिब पाँच हजार तीर्थालु शनिबार जाग्राम बसेको गिरीले बताएका छन् । उनीहरू रातभर जाग्राम बसेर बिहान पूजा आराधना गरी फर्किने गिरीको भनाइ छ । 

‘हामीलाई जानकारी आएअनुसार विभिन्न देशका करिब पाँच हजार तीर्थालु जाग्राम बस्नु भएको छ, रातभर जाग्राम बसेर बिहान पूजाआराधना गरी फर्किनु हुन्छ,’ गिरीले भने, ‘शिवलिंग पहिराउने साइत बिहान ७ बजे निर्धारण गरिएको छ ।’

गिरीका अनुसार रामनवमीको अवसरमा तीन दिनदेखि हलेसीमा भिड लागेको हो । यातायातको सुविधाका कारण तीर्थालुको संख्या बढ्दै गएको छ । ‘यातायातको सुविधाका कारण पछिल्लो समय तीर्थालुको संख्या बढ्न थालेको छ,’ गिरीले भने, ‘हलेसीमा तीर्थालुका लागि सुविधा भएपछि पनि संख्या बढेको हो ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully