वन डढेलोमा जलेर मृत्यु हुनेको संख्या दुई पुग्यो

चैत्र २२, २०८१

लक्ष्मी गौतम

The death toll in the forest fire reached two

पाँचथर — वन डढेलोमा परेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बिहीबार अपरान्ह फिदिम नगरपालिका-१३ जोबारीस्थित वनमा लागेको डढेलोमा फस्दा फिदिम नगरपालिका-१३ की ४७ वर्षीय उषाकला राई नेम्वाङ घाइते भएकी थिइन्।

 उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा शुक्रबार बिहान बाटोमै मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए। उनका अनुसार नेम्वाङलाई सिन्धुली पुर्‍याइएको थियो।  

यसअघि बिहीबारमात्रै पाँचथरकै कुम्मायक गाउँपालिका-३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको उपचारका लागि लैजाने क्रममै निधन भएको थियो । कुम्मायक–३ ताम्राखु जंगलमा लागेको डढेलोमा परी गम्भीर घाइते भएकी उनको उपचारकालागि लैजाने क्रममा भेडेटारमा पुग्दा निधन भएको थियो।

सोही डढेलोमा परी जलेर घाइते भएका २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाफे र ६० वर्षीया निरमाया सम्बाहाफेको विराटनगरस्थित सिटि अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको पनि अवस्था गम्भीर छ। कुम्मायक गाउँपालिका-१ खाल्डेमा लागेको आगो निभाउने क्रममा स्थानीय ३१ वर्षीय खगेन्द्र विश्वकर्मा लडेर घाइते भएका थिए। उनको अवस्था भने सामान्य छ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully