पाँचथर — कोशी प्रदेश सरकारले जिल्ला अस्पताल ताप्लेजुङमा सर्जन पठाएको छ । हेन्ड सर्जरी फेलो विशेषज्ञ डाक्टर प्रनम जयरुले ‘एपेन्डिक्स, हर्निया, पायल्स, फिसर, फिस्टुला, गोलागाठा र इमर्जेन्सीमा हुने पेट, हातखुट्टा लगायतको अप्रेसन ताप्लेजुङ जिल्ला अस्पतालमै हुने दाबी गरे । आफूले यो प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए ।
जिल्ला अस्पताल प्रमुखको समेत भूमिकामा आएका जयरुले यसअघि संखुवासभा जिल्ला अस्पतालमा दुई वर्ष काम गरेका हुन् । ‘सरकारले दुर्गम र अति दुर्गममा विशेषज्ञ डाक्टर पठाउने नीति लिएको छ,’ उनले भने, ‘हामीले जिल्ला अस्पतालमा केही व्यवस्थापन गर्न सके अरु विशेषज्ञ डाक्टर पनि आउनु हुन्छ ।’
उनले आफू अस्पतालको प्रमुख डाक्टर पनि भएकाले आवश्यक उपकरणको बन्दोबस्ती मिलाउने दायित्त्व आफ्नै भएको बताए ।
जिल्ला अस्पतालमा आईसियु सञ्चालनका लागि पूर्वाधार भएको तर जनशक्ति नभएकाले तत्काल सञ्चालन गर्न नसकिने उनले बताए । त्यसका लागि आफूले अस्पताल व्यवस्थापन समितिसँगको समन्वयमा काम गर्ने उनले बताए ।
जिल्ला अस्पतालमा अहिले दुई जना डाक्टरको दरबन्दी छ । यो १५ श्य्याको अस्पताल हो । कोशी प्रदेश सरकारले ५० श्य्याको बनाउने घोषणा गरेपनि कार्यान्वयन भएको छैन । ‘गाउँपालिकाका आधारभूत अस्पताल हुन्, त्यहाँबाट रेफर भएर आउने बिरामीले जिल्ला अस्पतालमा उपचार पाउने गरीको व्यवस्थापन मिलाउन सकिन्छ,’ जयरुले थपे, ‘प्रदेश सरकारले अध्ययन पनि गरेको छ, अब त्यस अनुसारको काम होला ।’२४ सै घण्टा चलाउनुपर्ने अस्पताल अहिले ६० जना जनशक्तिले धानिरहेको उनले बताए ।
अहिले एक जना चिकित्सकले दैनिक कम्तीमा ४० देखि ५० जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । करार र संघबाट आएका समेत गरी अस्पतालमा पाँच जना चिकित्सक कार्यरत थिए । तर अर्का एमडिजिपी डाक्टर महेश्वर गोसाई गत सोमबार बिदा भएर गएका छन् ।
दुई जनाको करार अवधि सकिएकाले यसै महिना फर्कने तयारीमा रहेको अस्पतालले जनाएको छ । भौगोलिक हिसाबले नेपालको डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङमा एक जिल्ला अस्पताल र दुई प्राथमिक उपचार केन्द्र छन् । यी केन्द्र मैवाखोला गाउँपालिकाको तेम्वे र सिरिजङगाको तेल्लोकमा छन् । यहाँ भने स्थानीय तहले डाक्टर राखेका छन् ।
