ताप्लेजुङ — नो केबलकार समूहले चैत २५ गतेदेखि घोषणा गरेको यातायात बन्दको कार्यक्रम स्थगित गरेको छ । नो केबलकार समूहका अगुवा राम मादेनले सर्वोच्च अदालतले चैत २६ गते छलफलका लागि बोलाएकाले बन्दको कार्यक्रम स्थगित गरिएको बताए ।
समूहले ताप्लेजुङसहित पाँचथर, इलाम हुँदै झापाको चारआली जोड्ने मेची राजमार्ग र पाँचथर हुँदै धनकुटाको मूलघाट तथा काँकडभिट्टादेखिको एसियन हाइवे बन्दको आह्वान गरेका थिए । बन्दको प्रचारका कारण अघिल्ला वर्षहरू जस्तो तीर्थयात्री पाथीभरा आउन पाएका छैनन् । बन्दको मारमा पर्ने त्रासका कारण तीर्थयात्रीको संख्यामा कमी आएको ताप्लेजुङका होटल व्यवसायीले बताएका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार अघिल्ला वर्षमा चैते दसैं तथा नयाँ वर्ष आसपास दैनिक १७ हजार जनासम्म मन्दिर दर्शनका लागि पुगेका थिए । यसवर्ष सबैभन्दा बढी १ हजार ७ सयको हाराहारी मात्रै रहेको समितिले जनाएको छ । यातायात बन्द स्थगनको सन्देश सँगै तीर्थयात्रीको संख्या बढ्ने अपेक्षा गरिएको पाथीभरा माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराई बताउँछन् ।
केबलकार निर्माणमा विवाद भइरहँदा आन्दोलनरत समूहले निर्माणको काम स्थगित र खारेजीको अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । अन्तरिम आदेश दिनु पर्ने/नपर्ने भन्ने विषयमा दुई पक्षबीच बुझ्नु पर्ने भएको भन्दै सर्वोच्चले निर्माण कम्पनी र रिट दायर गर्ने नो केबलकार समूहलाई छलफलका लागि बोलाएको छ । त्यतिबेलासम्म काम स्थगित गर्न पनि आदेश दिएको छ ।
सर्वोच्चको आदेशसँगै निर्माण स्थगित गरिएको पाथीभरा माता केबलकार कम्पनीका सम्पर्क अधिकृत रुद्र पौडेलले बताए । यहाँ केबलकार निर्माणको पक्ष–विपक्षमा विवाद तथा झडपसमेत हुँदै आएको छ । यो विषय अहिले संघीय सरकार र सर्वोच्चसम्म पुगेको छ ।
