पाँचथर — पाँचथरको फिदिम नगरपालिका ४ र १० का सार्वजनिक तथा नीजी वनमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ की सुकमाया तामाङ, फिदिम–१० की सुजिता खजुम र दिलु खजुम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुमध्ये सुकमाया तामाङले चैत १९ गते आफ्नै बारीमा झिक्रा डढाउन बालेको आगो स्थानीय सिंहदेवी सामुदायिक वनमा सल्केको थियो ।
यस्तै, सुजिता र दिलुले पनि चैत १९ गते दिउँसो आफ्नो बारीको पात पतिङ्गर डढाउने क्रममा बालेको आगो सल्किएर खलंगाटार माविको वन क्षेत्रमा प्रवेश गरेको थियो ।
दुवै ठाउँको आगो स्थानीय प्रहरीले निभाएका थिए । नियन्त्रणपछि सोधपुछका क्रममा उनीहरुले आगो सल्काएको खुलेपछि पक्राउ गरी आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी पहिलो चरणमा पाँचथर जिल्ला अदालतबाट ५–५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) बिनालाल साह –(तेली) ले जानकारी दिए ।
पछिल्लो समय जिल्लाका विभिन्न वन जंगलमा आगो सल्काउने क्रम बढेको छ । जिल्लामा डढेलोमा पर्दा चैत २२ गते कुम्मायक–३ की प्रतिमा लावतीको मृत्यु हुनका साथै ५ जना घाइते छन् ।
स्थानीय प्रशासनले आगो लगाउनेको पहिचान खुलेका खण्डमा पहिले थुन्ने त्यसपछि सुन्ने रणनीति लिएको छ ।
