पाँचथर डढेलो : १ को मृत्यु, ५ जना घाइते [अपडेट]

चैत्र २१, २०८१

लक्ष्मी गौतम

Panchthar fire: 1 killed, 5 injured [Update]

पाँचथर — जिल्लाको कुम्मायक गाउॅपालिकामा डढेलोमा परी घाइते भएकी २८ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको छ । कुम्मायक–३ ताम्राखु  जंगलमा लागेको डढेलोमा परी गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुडाथोकीले जानकारी दिए ।

डढेलो लागेका स्थानबाट उद्वार गरी उपचारका लागि धरान पठाइएकी उनको धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको हो । 

सोही डढेलोमा पर्दा स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको छ । उनीहरुको पनि अवस्था गम्भीर छ । 

यस्तै कुम्मायक–१  खाल्डेमा लागेको आगो निभाउन गएका सोही स्थानका ३१ वर्षीय खगेन्द्र विश्वकर्मा भने लडेर घाइते भएका छन् ।

फिदिम नगरपालिका १३ मा भएको आगलागीमा परेकी ४७ वर्षीया उषाकला राई नेम्बाङलाई पनि उपचारार्थ धरान पठाइएको छ । उनको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully