फिदिम र यासोकमा डढेलो निभाउने क्रममा ५ जना घाइते, २ को अवस्था चिन्ताजनक 

चैत्र २१, २०८१

लक्ष्मी गौतम

5 injured while fighting fire in Fidim and Yasok, condition of 2 is critical

पाँचथर — जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाका विभिन्न स्थानमा जंगलमा डढेलो निभाउने क्रममा ५ जना सर्वसाधारण घाइते भएका छन् । कुम्मायक-३ ताम्राखुका अमरसिंह थापा र पदम खड्कासहितका स्थानीयको निजी वनमा लगाइएको डढेलोमा पर्दा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डढेलोमा पर्दा २८ वर्षीया स्थानीय सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे, २२ वर्षीया प्रतिमा सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे जलेर घाइते भएका हुन् । 

बिहीबार दिउँसो घाँस दाउरा खोजिरहेका बखत जंगलको पुछारबाट सल्केको डढेलोमा पर्दा उनीहरु जलेको प्रहरीले जनाएको छ । घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिए । घाइते चारैजनालाई डढेलो लाग्दै गरेको स्थानबाट उद्धार गरी थप उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

5 injured while fighting fire in Fidim and Yasok, condition of 2 is critical

फिदिम-१३ जौबारीको जंगलमा बिहीबार मध्याह्न लागेको डढेलोमा पर्दा ४७ वर्षीया स्थानीय उषाकला नेम्बाङ राई गम्भीर घाइते भएकी छिन् । 

जंगलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा पर्दा शरीरका अधिकांश भाग जलेकी नेम्बाङलाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully