खोटाङ — जिल्लाका तीन विमानस्थलमध्ये उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थल पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा रहेको विमानस्थल कोभिडको बेला २०७७ साउनबाटै बन्द अवस्थामा छ ।
रावाबेंसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बन्द विमानस्थल सञ्चालनका लागि पटक–पटक सम्बन्धित निकायसमक्ष डेलिगेसन जाँदासमेत बेवास्ता गरिएको गुनासो गरे । ‘विमानस्थल सञ्चालनका लागि मन्त्रीपिच्छे पटक–पटक डेलिगेसन गैयो, जहाजै छैन भन्छ,’ उनले भने, ‘त्यत्रो अनुरोध गर्दा पनि बेवास्ता गरियो, अब त कत्ति जानु, धाउँदाको हत्तु, मन्त्रीलाई पनि लाज हुनु पर्ने हो ।’
उक्त विमानस्थल ०२८ देखि सञ्चालनमा आएको हो । तत्कालीन इन्जिनियर विरेन्द्र केशरी पोखरेलको पहलमा ०२५ को अन्त्यमा निर्माण सुरु गरिएको विमानस्थल ०२७ सालमा सम्पन्न भएपछि ०२८ सालबाट सञ्चालनमा आएको श्रेष्ठले बताए ।
त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल चार महिनादेखि बन्द छ । जहाज बिग्रिएपछि उडान बन्द भएको हो । यसअघि काठमाडौं–थामखर्क–काठमाडौं सातामा एक चोटी उडान भरिन्थ्यो । थामखर्कमा आगामी शनिबार नेपाल वायु सेवाले उडान गर्ने तयारी गरिरहेको खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । उक्त विमानस्थल ०५६ बाट सञ्चालनमा आएको थियो ।
जिल्ला सदरमुकाम नजिकै रहेको मनमाया राई खानीडाँडा विमानस्थलमा भने गत चार महिनादेखि बन्द उडान गत आइतबारदेखि सुरु भएको छ । तर उडान तालिका भने निर्धारण भइनसकेको उक्त विमानस्थलका स्टेसन म्यानेजर सुरेन्द्र कसजूले बताए । उक्त विमानस्थल ०६६ मंसिरबाट सञ्चालनमा आएको हो । त्यतिखेर पर्यटनमन्त्री शरतसिंह भण्डारी थिए ।
त्यसैगरी कात्तिकदेखि बन्द ओखलढुंगाको रूम्जाटार विमानस्थल भने बुधबारदेखि सञ्चालनमा आएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताएका छन् । हप्तामा एक दिन नियमित उडान हुने गरी पहल भइरहेको समेत सुवेदीले बताए ।
