उदयपुरबाट ७ जना लागूऔषध कारोबारी पक्राउ

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

7 drug dealers arrested from Udaipur

उदयपुर — उदयपुरको कटारीबाट ठूलो मात्रामा लागूऔषधसहित ७ जना कारोबारी पक्राउ परेका छन् । मंगलबार राति कटारी नगरपालिका–४ कान्छीबजारबाट १० हजार ४६३ ओटा ट्याबलेट र एक सय ग्राम गाँजासहित ७ जना लागूऔषध कारोबारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कटारी नगरपालिका-७ का २९ वर्षीय हरिबहादुर तामाङ, वडा नम्बर-४ का २३ वर्षीय अनमोल मगर, वडा नम्बर-८ का १९ वर्षीय भक्तबहादुर तामाङ, २५ वर्षीय सोमकृष्ण राई, २० वर्षीय आरती राउत, २३ वर्षीय शरदकुमार सुनुवार र १९ वर्षीय विक्रम साशंकार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए । 


प्रतिबन्धित लागूऔषध बजारमा ओसारपसार तथा बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा कारोबारी गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक भिमलाल ओलीको नेतृत्वमा खटिएको टोलीले दुई वटा मोटरसाइकल, २ लाख ४७ हजार ७२० रुपैयाँ नगद र ६ वटा मोबाइल बरामद गरेको हो । 


प्रहरीले पक्राउ परेकाहरूको साथबाट स्पासपेन ट्याबलेट पाँच हजार ९१२, ट्रुपेन ट्याबलेट चार हजार ४३१ र टापेन्टा ट्याबलेट १२० गरी जम्मा दश हजार ४६३ ट्याबलेट बरामद गरिएको डीएसपी दोङले बताए ।


उनीहरूले प्रयोग गरेको प्र. १–०५–००१ प. ७६०२ र प्र.१–०५–००१ प. ७४९७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिइएका सातै जनालाई एलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको डिएसपी दोङले बताए  

कान्तिपुर

Link copied successfully