झापा — अमेरिकाबाट डिपोर्ट भएर भुटान, भारत हुँदै नेपाल प्रवेश गर्न लागेका थप एक जना शरणार्थी पूर्वीनाकाबाट पक्राउ परेका छन् ।
सोमबार राति मेचीनगर-४ स्थित नेपाल-भारत सीमा नजिकै बाहुनडाँगीको मिलन टुङ क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
उनी अवैध रुपमा नेपाल प्रवेश गर्दै थिए। नाकामा खटिएको सशस्त्र प्रहरी बलले चेकजाँच गर्दा उनीसँग परिचय खुल्ने कुनै पनि कागजात भेटएन । उनी अमेरिकाबाट फिर्ता आएका भुटानी नागरिक ३० वर्षीय अशोक गुरुङ रहेको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।
यसअघि गत शनिबार तीनजना शरणार्थी बेलडाँगी शिविरबाट पक्राउ पक्राउ परेका थिए । अमेरिकाबाट डिपोर्ट भएका १० मध्ये ६ जनाको अत्तोपत्तो छैन ।
