धनकुटाका सामुदायिक वनमा डढेलो

डढेलोले एकैदिन आधा दर्जन वनमा क्षति

चैत्र १९, २०८१

रमेशचन्द्र अधिकारी

Fire in community forest of Dhankuta

धनकुटा — धनकुटामा सोमबार एकै दिन आधा दर्जन सामुदायिक तथा निजी वनमा डढेलो लाग्दा सयौं हेक्टरको वन पैदावर नष्ट भएको छ ।

धनकुटा नगरपालिका ३ र ४ को सेउलेस्थित वाग्ले सामुदायिक वनमा साँझदेखि लागेको डढेलोले आसपासका बस्ती समेत जोखिममा परेको हो ।  

वनको अधिकांश क्षेत्र डढेलोले क्षति पुगिसकेको वाग्ले सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष धनबहादुर खड्काले बताए । २२ हेक्टर क्षेत्रफलको उक्त वनमा अधिकांश सल्लाका रुख छन् ।

Fire in community forest of Dhankuta

यसैबिच, सोमबार नै धनकुटा नगरपालिका–८ टेकुनालामा समेत डढेलो लागेको प्रहरीले जनाएको छ । 

धनकुटा नगरपालिका–१ हिलेस्थित खरायो टि–स्टेटमा समेत डढेलो लागेको छ । उक्त स्थानमा प्रहरी र स्थानीयबासीको पहलमा साँझ अबेर डढेलो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उता, महालक्ष्मी नगरपालिका–४ थाक्लेस्थित अरुण पिप्ले सामुदायिक वनमा समेत सोमबार डढेलो लागेको छ । 

यस्तै, पाख्रिबास नगरपालिका–३ सिंहदेवीस्थित लालबहादुर कटुवालको निजी वनमा समेत डढेलो लागेको छ । उक्त वनका लागेको डढेलो समेत प्रहरी र स्थानीयबासीको पहलमा साँझ नियन्त्रणमा आएको छ ।

जिल्लाका अन्य स्थानमा पनि डढेलो लागेको प्रहरीको भनाइ छ । क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully