धनकुटामा एमालेको विरोध सभा र र्‍याली

चैत्र १८, २०८१

रमेशचन्द्र अधिकारी

UML protest meeting and rally at Dhankuta

धनकुटा — नेकपा एमालेले धनकुटामा सोमबार मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । प्रतिगामी कदमको विरोध गर्दै मोटरसाइकल र्‍यालीमार्फत खबरदारी गरेको पार्टीले जनाएको छ । 

गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै उक्त कदमको विरोध स्वरुप कार्यक्रम गरिएको एमाले धनकुटाका सचिव पर्शुराम नेपालले बताए । 

दिउँसो साढे १२ बजे धनकुटा बसपार्कमा भेला भएर मोटरसाइकल र्‍याली सुरु भएको थियो । यसक्रममा करिब ६ सय मोटरसाइकलले बजार परिक्रमा गरेका थिए । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बीचबजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । 

वक्ताहरुले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको पक्षमा धारणा राखेका थिए । राजावादीको नाममा भएका हिंसा र जनधनको क्षति भएको भन्दै आक्रोश पोखे । संविधानसभा सदस्य टीकाराम चेम्जोङ, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, प्रदेशसभा सदस्य निरन राई, इन्द्रमणि पराजुली लगायतले र्‍यालीको अगुवाइ गरेका थिए ।  

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully