'सञ्चारमाध्यममाथिको आक्रमण, हत्या र आगजनीको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ'
संखुवासभा — नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले चैत १५ मा भएको तोडफोड, सञ्चारमाध्यममाथिको आक्रमण, हत्या र आगजनीको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।
संखुवासभाको खाँदबारीमा सोमबार आयोजित लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि जागरणसभालाई सम्बोधन गर्दै गौतमले सीमा नाघेर कोही पनि बाहिर जानु नहुने बताए । उनले पूर्वराजा शाहलाई चुनावमा उत्रिन पनि आग्रह गरे ।
'पूर्वराजा शाह गणतन्त्र आएपछि सामान्य नागरिक भइसकेका छन्,' उनले भने, 'एउटा नागरिकलाई राज्यले सीमाभित्रै राख्छ, त्यसका लागि धेरै समय पर्खन पर्दैन ।' गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उनले जिकिर गरे । 'गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र हुन्छ,' उनले भने, 'दलहरुले पनि आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ ।' संविधानबाटै राजा फालिएकाले राप्रपा लगायतका दलले बुझ्नुपर्ने उनले बताए ।
गौतमले ०८४ अघि अन्य कुनै दलसँग मिलेर नयाँ सरकार गठन नहुने पनि बताए । कांग्रेससँग गरेको सम्झौताअनुसार सत्ता सञ्चालन हुने हुँदा अलमलमा नपर्न कार्यकर्तालाई निर्देशन दिए ।
