पत्रकार हत्यामा संलग्नलाई कारबाही र सुरक्षाको मागसहित प्रधानमन्त्रीलाई पाँचथरका पत्रकारले पठाए ज्ञापन

चैत्र १८, २०८१

लक्ष्मी गौतम

Journalists from Panchthar sent a memorandum to the Prime Minister demanding action and security for those involved in the journalist's murder

पाँचथर — पूर्वराजाका समर्थकहरुको आन्दोलनमा रिपोर्टिङ गरिरहेका बखत काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित पाँचथरका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले कार्यस्थलमा खटिरहेका पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा भेला भएका पत्रकारले जिल्ला प्रशासन कार्यालय पाँचथरमार्फत सरकारलाई ज्ञापन पत्र पठाएका हुन् ।

पत्रकार हत्याको न्यायिक छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टसहितका सञ्चारगृहमा आगजनी, ढुंगामुढा र हुल हुज्जत गर्नेलाई पक्राउ गर्न तथा कार्यस्थलमा पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न उनीहरुले माग गरेका छन् ।

पाँचथर शाखामा जम्मा भएर गएका पत्रकारले सहायक प्रमुख जिल्ला अधिकारी डिकप्रसाद दाहालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै दाहालले पत्रकारका माग मन्त्रिपरिषद् र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्वता जनाए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully