लागुऔषध ओसारपसार विरुद्ध रणनितिका साथ अघि बढ्न निर्देशन

चैत्र १८, २०८१

अर्जुन सुवेदी

Instructions to proceed with strategy against drug trafficking

सुनसरी — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमाक्षेत्रबाट हुने लागुऔषध ओसारपसार तथा दुर्व्यसनविरुद्ध रणनितिक योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीको २४ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले लागुऔषधको समस्याले युवाहरु लतमा फस्दा देशको सुरक्षा अवस्था समेत बिग्रने बताए ।

सीमामा हुने लागुऔषधको समस्यलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्वको साथ काम गरिरहेको अर्यालले दाबी गर्दै अर्यालले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराह बाहिनी मतहतका सुरक्षा अधिकारीलाई अर्यालले निर्देशन दिए ।

चैत्र १३ गते इटहरीस्थित सेन्टरप्लाजामा भएको आगलागी नियन्त्रण तथा उद्धारमा सशस्त्र प्रहरीको टोलीले उत्कृष्ट भूमिका निभाएको भन्दै यसमा सहभागी सबैलाई पुरस्कृत तथा सम्मान समेत गरिने अर्यालले जानकारी दिए ।

कार्यक्रममा बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदीले सीमित स्रोत र साधनका बाबजुद पनि सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणको काममा खटिरहेको बताए । २४ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वीरगतिप्राप्त राष्ट्र सेवकका परिवारसहित सशस्त्र प्रहरी बललाई सहयोग गर्ने संघ संस्था र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरे । 

कोशी प्रदेशको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै संगठनिक ढाँचा अनुरुप तत्कालीन पूर्वाञ्चलको ३ वटा अञ्चल मेची, कोशी र सगरमाथा अन्तर्गतको १६ जिल्लाको शान्ति सुरक्षा बहन गर्नेगरी २०५७ साल चैत्र १८ गते बराह बाहिनीको स्थापना भएको थियो । बाहिनीले अहिले कोशी प्रदेशको १४ वटा जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्दै आएको जनाएको छ । 

अर्जुन सुवेदी

Link copied successfully