प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध कुनै गतिविधि मान्य हुँदैन : ज्ञवाली

चैत्र १८, २०८१

लक्ष्मी गौतम

Any activity against freedom of press and expression is not acceptable: Gyawali

पाँचथर — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजा फर्काउन भन्दै गरेको आन्दोलका क्रममा पत्रकार र सञ्चार गृह माथि भएका हत्या र आक्रमण बर्बरता र अराजकताको उपज भएको टिप्पणी गरेका छन् ।

पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर टेलिभिजन लगायतका सञ्चार गृहमा भएको आक्रमण र हुल हुज्जतसँगै विभिन्न स्थानमा समाचार संकलन गरिरहेका पत्रकारमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

'संविधानले जोकोहीलाई असन्तुष्टि र विचार स्वतन्त्र रुपमा राख्ने छुट दिएको छ, तर राजा फर्काउने नाममा भएका आगजनी, तोडफोड, व्यक्ति हत्या, हुल हुज्जत र अराजक गतिविधिलाई राजनैतिक रुपमा नभएर आपराधिक घटनाका रुपमा लिएर अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ,’ ज्ञवालीले भने ।

सरकार चैत १५ गते काठमाडौंका विभिन्न स्थानमा भएका घटनाका सन्दर्भमा छानबिन र अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन चुक्नु नहुने ज्ञवालीको धारणा थियो ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर फागुन ७ गते दिएको अभिव्यक्तिका कारण उत्तेजित भएका उनका समर्थकबाट भए, गरेका सबै अपराधिक क्रियाकलाप हुन्,' पूर्वमन्त्री समेत रहेका ज्ञवालीले, ‘कोटेश्वरमा पत्रकारलाई जिउँदै जलाउनु, भाटभटेनीमा लुटपाट गर्नु, कान्तिपुर टेलिभिजनमा हुल हुज्जत गर्नु तथा प्रहरीको बन्दुक खोसिरहेको दृश्य कैद गर्दा पत्रकारका खुट्टा भाँच्नु आदि जस्ता घटनाले राजा र राजावादीको असली व्यवहार प्रष्ट पारेको छ, राजा ल्याउने नाममा त यत्तिका हिंस्रक गतिविधि हुन्छन् भने राजा हुँदा जनताको मौलिक हक कहाँ थियो होला ?’, ज्ञवालीको प्रश्न थियो ।

आन्दोलनका नाममा उदण्डता मच्चाउने भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईं तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउनु पर्ने धारणा राख्दै ज्ञवालीले उनी चाँडै पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘प्रसाईंले नेतृत्व गरेको भीडबाट मुलुक सुध्रिन्छ भन्नु भ्रम मात्रै हो । उनी उग्रता, अराजकता र उदण्डताका उदाहरण हुन्, कुनै बेला उनी एमालेको केन्द्रीय सदस्य थिए, त्यो बेला पार्टीको नाम भजाएर व्यक्तिगत फाइदा लुट्ने कोसिस गरे । उनी जहाँ जान्छन् त्यहीँ बिगार गर्छन्, उनलाई केन्द्रीय सदस्यका रुपमा स्वागत गर्नु एमालेको भुल थियो,’ ज्ञवालीले भने ।

मदन भण्डारी फाउण्डेसन पाँचथरको अधिवेशन उद्घाटनका लागि पाँचथरको फिदिम आएका उनले फाउण्डेसनद्वारा फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सोमबार बिहान यस्तो धारणा राखेका हुन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully