पत्रकार हत्याविरुद्व पाँचथरमा आन्दोलन 

चैत्र १६, २०८१

लक्ष्मी गौतम

Protest in Panchthar against killing of journalists

पाँचथर — राजावादीको आन्दोलनमा पत्रकारको हत्या गरिएको भन्दै पाँचथरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखामार्फत विरोध कार्यक्रम आयोजना गर्दै जिल्लामा क्रियाशील पत्रकारहरुले कार्यस्थलमा पत्रकारलाई जिउँदै जलाइएको घटनाको भर्त्सना गरेका हुन् ।

फिदिमस्थित गणतन्त्र चोकमा भेला भएका पत्रकारहरुले पूर्वराजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको आत्मा शान्तिको कामना गर्दै घटनाको न्यायिक छानबिन गरेर हत्यामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन माग गरे ।

कार्यक्रममा बोल्दै वक्ताहरुले पत्रकार सुरक्षाका लागि राज्य जिम्मेवार बन्न नसक्दा पटक-पटक घटना दोहोरिँदै आएको टिप्पणी गरे ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य गणेश साम्पाङ, प्रेस चौतारी पाँचथरका अध्यक्ष मदन थापा, प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइँटेल र पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मी गौतम र शाखा अध्यक्ष भिमकुमार बाँस्कोटाले सम्बोधन गरेका थिए । उनीहरुले आन्दोलनका नाममा कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट लगायतका सञ्चारगृहमा भएको आक्रमणको समेत भर्त्सना गरेका थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully