विराटनगर — रिपोर्टिङकै क्रममा भिडियो पत्रकारको मृत्यु र मिडियामाथि भएको आक्रमणको विरोधमा विराटनगरका पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबारको राजावादी प्रदर्शनका क्रममा समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले आगजनी गर्दा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
यस घटनाको विरोधमा शनिबार बिहान नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा विराटनगरमा शान्तिपूर्ण विरोध प्रदर्शन भयो । महासंघको कार्यालयबाट रोडशेषबाट सुरु भएको विरोध र्यालीले ट्राफिक चोक, महेन्द्र चोक, शनि मन्दिर, जलजला मोड हुँदै पुनः ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकार र भिडियो हाउसहरुमाथिको आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए । उनले पत्रकार रजकलाई सहिद घोषणासँगै उनको परिवारलाई उचित क्षतिपूर्ति दिन राज्यसँग माग गरे ।
पत्रकार महासंघका मोरङ अध्यक्ष सुशिला पाठकले पत्रकार रजकको मृत्युमा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताइन् ।
झापा, सुनसरी लगायतका अन्य जिल्लाका पत्रकार महासंघहरुले पनि पत्रकार रजकको मृत्युको विरोधमा प्रदर्शन गरेका छन् ।
