पाँचथर — नेपाल भारत सीमावर्ती क्षेत्रमा अवस्थित पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा वैशाख १ गते चौंरी पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।
हिमाली क्षेत्रमा पाइने चौंरी, तिनका प्रजातिसँगै चौंरी र भेडाजन्य उत्पादनको प्रदर्शनी र प्रवर्धनका लागि यहाँ २०७३ सालदेखि महोत्सव आयोजना गर्न थालिएको हो । जसको निरन्तरता स्वरुप यो वर्ष आयोजना गर्न लागिएको चौंरी महोत्सव आठौं संस्करणको हो ।
फालेलुङ गाउँपालिका मुख्य आयोजक रहेको महोत्सव समुद्री सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा अवस्थित फालेलुङ ४ (चारराते) मा आयोजना गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष महेन्द्र हाङ जवेगूले जानकारी दिए ।
महोत्सवको मुख्य आयोजक, आयोजक र प्रवर्तकहरुले शनिबार फिदिममा पत्रकार सम्मेलन गर्दै आठौं संस्करणको चौंरी महोत्सवमा यसपटक छ सयभन्दा धेरै चौंरी र तिनका प्रजातिको प्रदशर्नी, घीउ, छुर्पी, चीज र चौंरीजन्य उत्पादनको स्टल व्यवस्थापनसँगै याकचढी र घोडचढी जस्ता क्रियाकलाप सञ्चालन गरिने जानकारी दिए ।
हिमालको पर्यायका रुपमा स्थापित चौंरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष जवेगुको भनाइ छ ।
चौरी पकेट क्षेत्रका रुपमा स्थापित उक्त स्थानमा फालेलुङ गाउँपालिका प्रवर्धक रहेर बर्सेनि नयाँ वर्षका दिन चौंरी पर्यटन महोत्सव आयोजना गरिँदै आएको छ ।
यो वर्ष महोत्सवका अवसरमा चैत ३१ देखि वैशाख २ गते सम्म तीनदिनको समय सीमा तोकिए पनि मुख्य क्रियाकलाप नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते सञ्चालन गरिनेछन् ।
यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘आठौं फालेलुङ चौंरी पर्यटन महोत्सव–२०८२’ भनिएको छ ।
फालेलुलुङ गाउँपालिका मुख्य आयोजक रहेको महोत्सवको आयोजकका रुपमा फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौंरी पालन तथा संरक्षण संस्था रहेका छन् ।
महोत्सव सम्पन्न गर्न पर्यटन कार्यालय काकडभिट्टा, नेपाल पर्यटन बोर्ड र नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रवर्धकको भूमिका निर्वाह गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पञ्जाव, वेष्ट बंगाल, कोलकाता, भुटान हुँदै विभिन्न मुलुकका आन्तरिक र वाहृय गरी दुईहजार भन्दा धेरै नागरिक भित्र्याउने आयोजकको लक्ष्य छ ।
महोत्सवमा उत्कृष्ट चौंरी पालकको सम्मान, चौंरी पालकबीच मैत्रीपूर्ण फुटबल, याक डान्स र हुर्तुक पड्काउने जस्ता कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ ।
