ताप्लेजुङ — १ लाख २० हजार जनसंख्या भएको ताप्लेजुङमा ७३ हजार ८ सय ८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । अघिल्लो आर्थिक वर्ष ६९ हजार ५ सय ९ जनाले दर्ता गराएका थिए । यस अर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ हजार २ सय ८४ जनाले दर्ता गराएको जिल्ला प्रशसन कार्यालयले जनाएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्तादेखि हरेक काममा यसको प्रयोग अनिवार्य गर्ने भएपछि सेवाग्राही उल्लेख्य संख्यामा बढेका हुन् ।
प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार अहिले पनि सबैभन्दा बढी सेवाग्राहीको भीड यही शाखामा हुने गरेको छ । वसन्त निरौलाले अनलाइन रजिस्ट्रेसनको काम गर्दै आएका छन् । प्रशासन कार्यालयमा सबैभन्दा ढिलोसम्म खुल्ने फाँट यही हो । नागरिकता, नाता प्रमाणितदेखिका धेरैजसो कागजात अनलाइन दर्ता गर्नुपर्ने भएकाले एक जनाका लागि १५ देखि २० मिनेटसम्म लाग्ने गरेको छ ।
‘नागरिकता निकालेपछि परिचयपत्रका लागि फाँटमा जान्छन् । एकदुई दिन लगाएर गाउँबाट आएका हुन्छन् । त्यही दिन काम भए भोलिपल्ट बिहानै घर फर्किन खोज्छन्,' खड्काले भनिन्, ' त्यही भएकाले ढिलोसम्म बसेर पनि काम सकेर पठाउँछौं ।’
दर्ता गर्नेको तुलनामा कार्ड लानेको संख्या भने न्यून छ । फागुन मसान्तसम्म एक हजार ८ सय २५ जनाले मात्रै कार्ड लगेको प्रशासन कार्यालयले जनाएको छ ।
