ताप्लेजुङ — उद्योग वाणिज्य संघ ताप्लेजुङको अध्यक्षमा विकास गौतम निर्विरोध निर्वाचित भएका छन् । चार दिनको प्रयासपछि सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । ११ गते मनोनयन गर्दा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।
दुई दलले घोषित गठबन्धन गरेपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अघोषित गठबन्धन गरेका थिए । मनोनयन फिर्ता लिने अन्तिम दिन बिहीबार बेलुका निर्विरोध भएका तीन पदाधिकारीबाहेक बाँकी सबैले मनोनयन फिर्ता लिएपछि उद्योग वाणिज्य संघले रिक्त पदमा पुन: निर्वाचन गराइदिन निर्वाचन समितिलाई लिखित आग्रह गरेको थियो । समितिले पुनः निर्वाचन कार्यक्रम सार्वजनिक गरी मनोनयन दर्ता गराएको हो । मनोनयन दर्ता गराउँदा सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत बलराम भट्टराईका अनुसार प्रथम उपाध्यक्ष शान्ति मादेन, द्वितीय सोजित श्रेष्ठ, तृतीय रूपक घिमिरे, महासचिव कमल लिम्बू, सचिव खेमराज केसी, कोषाध्यक्ष युवराज महतारा भएका छन् । सदस्यमा दावा शेर्पा, पुण्यप्रसाद आचार्य, तेजबहादुर भट्टराई, गायत्री भण्डारी, लोचन भण्डारी, युवराज बराल, हरीप्रसाद ओझा, तेजकुमार सुनुवार, दिनेश भट्टराई, सन्तोष भट्टराई, विकास हाङगाम, गणेश बिक, लिलाप्रसाद पौडेल र हरिचन्द्र पौडेल रहेका छन् ।
अध्यक्षले सदस्यमध्येबाट एकजनालाई वरिष्ठ उपाध्यक्ष र छ जना सदस्य मनोनयन गर्न पाउने वैधानिक व्यवस्था छ । दावा शेर्पालाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने भद्र सहमति भएको निर्वाचित अध्यक्ष गौतमले बताए । पहिलो बैठकबाट वरिष्ठ उपाध्यक्षसहित भद्रवीर रेग्मी, रेवत श्रेष्ठ, भोला बराल, नन्दकुमार बानियाँ र गीता भट्टराईलाई सदस्यमा मनोनयन गर्ने सहमति भएको निवर्तमान अध्यक्ष नारान थापाले बताए । शुक्रबार साधारणसभा रहेको छ । सोही दिन थापाले पदभार हस्तान्तरण गर्नेछन् ।
