कञ्चनजंघा आरोहणका लागि बाटो बनाउँदै शेर्पा

चैत्र १३, २०८१

आनन्द गौतम

Sherpas making their way to climb Kanchenjunga

ताप्लेजुङ — कञ्चनजंघा हिमाल आरोहणका लागि बाटो बनाउने ‘आइसफल डाक्टर’को टोली आधार शिविरतर्फ लागेको छ । आरोहणको सिजन सुरु भएसँगै कञ्चनजंघा चढ्ने बाटो बनाउन नौ जना शेर्पालाई पठाइएको हो ।

यसको अगुवाई इलाइट एक्सपिडिसन कम्पनी काठमाडौंले गरेको छ । यो हिमाल आरोहण गरेर कीर्तिमान बनाएकाहरुको संस्था हो । 

इलाइटका सञ्चालक मिङ्मा डेभिड शेर्पाका अनुसार यो सिजनमा ५५ जनासम्म विदेशी आरोही हुने अनुमान गरिएको छ । ‘आरोहीहरुले कम्पनीसँग समन्वय गरेका छन्,’ मिङ्माले भने, ‘सरकारबाट अनुमति लिने समय बाँकी रहेकाले ठ्याक्कै संख्याचाहिँ यकिन भइसकेको छैन ।’ आरोही, उनीहरुलाई आरोहणमा सहयोग गर्ने शेर्पा लगायतको टोली समेत गर्दा एक सय जनाको हाराहारी हुने उनले बताए । 

बाटो बनाउने टोली भने चेइराम पुगेको मिङ्माले जानकारी दिए । चेइराम ३ हजार ८ सय ७० मिटर उचाइमा छ । उनीहरु ताप्लेजुङको खेवाङ, याम्फुदिन हुँदै त्यसतर्फ गएका हुन् । आरोहणका लागि आवश्यक पर्ने, डोरी, भर्‍याङ लगायतका उपकरणहरु हेलिकोप्टरबाट पुर्‍याउने तयारी छ । काठमाडौंबाट तापेथोक हुँदै बेसक्याम्प पुर्‍याउने तयारी कम्पनीले गरेको मिङमाले बताए । बाटो बनाउनका लागि ९० लाखदेखि एक करोडसम्म खर्च हुने अनुमान कम्पनीको छ । हिमाल आरोहण गराउने कम्पनी आफैले शेर्पा पठाएर बाटो बनाउने गरेका छन् । 

हिमालमा बाटो बनाउने कामलाई जोखिमपूर्ण मानिन्छ । शेर्पा टोलीले बनाएको बाटो भएर आरोही जान्छन् । यहाँ टाँगिएको डोरी समाउँदै र भर्‍याङ पार गर्दै आरोहण गर्ने गरेका छन् । नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यहाँ ८ हजार मिटर माथिका तीनवटा हिमाल एकै ठाउँमा रहेका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully