धरान — उमेरले घरमा बसेर आराम गर्नुपर्ने बेला हो । तर धरान उपमहानगरपालिका–९ का ७७ वर्षीय गणेशबहादुर तामाङ साइकलमा थरीथरीका फलफूल राखेर बजारका चोक गल्ली चहार्दै हिँड्छन् । उनले दुइटा डोको, ६ वटा ढाकी र ६ वटा क्यारेटमा साइकललाई ठेलाजस्तै बनाएका छन् । उनी हरेक बिहान धरान–१३ स्थित कृषि उपज बजारबाट स्याउ, सुन्तला, अंगुरलगायत सिजन अनुसारका अन्य फलफूल किनेर साइकल सजाउँछन् । दिनभर धरानका चोकगल्लीमा ताजा फलफूल बेच्दै हिँड्छन् ।
उनले यसरी साइकलमा सिजन अनुसारका फलफूल बेच्दै धरानका चोकगल्ली चहार्न थालेको १५ वर्ष भइसक्यो । दैनिक १० देखि १५ हजार रुपैयाँसम्मको फलफूल बिक्री हुने गरेको उनले बताए । ‘अझै पनि आफ्नो लागि आफैं गर्न सक्छु भन्ने आँट छ । त्यसैले अहिलेसम्म पनि आफैं मिहनेत गरिरहेको छु, तागत छउन्जेल कसैको भरोसा साहारामा बस्दिन्ँ,’ तामाङ भन्छन् ।
आम्दानीको अन्य बाटो नहुँदा मौसम अनुसारका फलफूल बेच्ने काममा लागेको उनले सुनाए । बजारमा राख्दा भन्दा चोक, गल्लीमा डुलाएर बेच्दा राम्रो व्यापार हुने उनको अनुभव छ । एक ठाउँ दोकान राखेर बेचेको भन्दा पनि बजारमा डुलाएर बिक्री गर्दा अलिक नाफा राम्रो हुने उनले सुनाए । ‘बजारमा दोकान खोल्न भाडा नै महँगो । डुलाएर बेच्दा कोठाभाडा तिर्ने पैसा बच्छ,’ उनी भन्छन्, ‘घाम, पानी, जाडो, गर्मी भन्नचाहिँ पाइँदैन तर एक ठाउँ राखेर भन्दा डुलाउँदा धेरै बिक्री हुन्छ ।’
१५ वर्षदेखि यहीँ पेसामा रहेर परिवार धानिरहेको उनले बताए । उनको परिवारमा श्रीमती, ३ छोरा र २ छोरी छन् । अहिले सबै छोराछोरीको विवाह भएर आफैं गरी खाने भएका छन् । सबै आफ्नै काममा व्यस्त हुने भएकोले आफू पनि सकिन्जेल कमाउने गरेको उनको भनाइ छ । दिनको समयमा साइकलमा फलफूल बेच्दै हिँड्ने गरेका उनी धरान–९ स्थित सब्जिमण्डी छेउमा श्रीमतीसँग बस्छन् ।
‘दु:खबिमार हुँदा भने छोराहरुले नै हेर्छन् । अरुबेला सबै जना आ–आफू गरिखान्छौं, परिवार ठूलो छ, नातानातिनी पनि भइसकेको छ, चाडपर्वमा हामी सबै जना भेला हुन्छौं,’ उनले मुस्कुराउँदै भने, ‘चाडवाडमा सबै जना भेला हुँदा भने खुसी लाग्छ । काम गर्ने बानी पनि भएकोले घरमा बसिराख्न मन लाग्दैन जबसम्म गर्न सक्छु यहीँ काममा रमाउँछु ।’
